बागमतीमा कांग्रेसका लामाले पेश गरे सरकार बनाउने दाबि
काठमाडौं ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन् । लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् ।
कांग्रेस र एमालेबीचको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ । बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले र देशमा पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाउने भएका हुन् ।
बुवा स्वर्गीय दिपबहादुर लामा तामाङ र आमा स्व पुर्णिामाया लामा तामाङको कोखबाट २०२७ कार्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका–५ मनकामनामा सामान्य परिवारमा लामाको जन्म भयो।
सानै उमेरदेखि अब्बल र हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट निमाबि, सदरमुकाम विदुरबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गरेका लामा राजनीतिसँगै व्यावसायिक काममा पनि संलग्न थिए। लामाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
२०४३ सालदेखि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको सदस्य हुँदै नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नेविसंघ नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै काङ्ग्रेस राजनीतिमा उदाएका हुन् लामा।
गत ०७९ चैत २६ गते बागमती सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका लामाले त्यसबेला सत्ताको नेतृत्व गरेको माओवादीलाई दवावमा राखेर मन्त्रालय काङ्ग्रेसको भागमा ल्याउन सफल भए।
प्रतिक्रिया